काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ दुई सिजनका लागि न्युजिल्याण्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबमा अनुबन्धित भएकी छिन् । क्लबसँग जोडिँदा साम्बा उत्साहित भएको वेलिङ्टनले जनाएको छ ।
वेलिङ्टन अष्ट्रेलियाको ए–लिगमा प्रतिस्पर्धा गर्ने न्युजिल्याण्डको एकमात्र व्यवसायिक फुटबल क्लब हो । सन् २००७ मा स्थापना भएको क्लबले पुरुष र महिला दुवै टिममार्फत अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै आएको छ ।
यता, साम्बाले सामाजिक सञ्जालमार्फत फ्रान्सेली क्लब इए गुइङगम्पसँगको २ वर्षको यात्रालाई स्मरण गर्दै क्लब तथा समर्थकलाई धन्यवादसमेत दिएकी छन् ।
“हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद । हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ,” साम्बाले लेखिन्, “हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु । जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ ।”
उनी फ्रान्सको ‘प्रेमियर लिग’अन्तर्गत इए गुइङगम्पबाट खेल्दै आएकी थिइन् । २०२५/२६ ए–लिग सिजनका लागि वेलिङ्टन फिनिक्स महिला टिममा अनुबन्धित १७ औं खेलाडी हुन् । आगामी हप्ता थप अनुबन्धन तथा पुनस् अनुबन्धन हुने क्लबले जनाएको छ।
२९ वर्षीया साम्बाले नेपालका लागि ६० खेलमा ६६ गोल गरिसकेकी छन्, जसमा हालैको एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा तीन खेलमा तीन ह्याट्रिकसमेत सामेल छन्। उनी भारतीय महिला सुपर लिगमा मात्र २४ खेलमा ६० भन्दा बढी गोल गर्दै चम्किएपछि फ्रान्सको इए गुइङगम्प क्लबमा अनुबन्धित भएकी थिइन् । जहाँ उनी शीर्ष यूरोपेली लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।