काठमाडौं । मीन बहादुर भाम निर्देशित शाम्बाला २०८२ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार( २०८२ मा शाम्बालाले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको हो ।
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका हुन् । उत्कृष्ट निर्देशकतर्फको पुरस्कार पनि यसै फिल्मबाट मीनबहादुर भामले नै पाएका छन् ।
उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाएका छन् । उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासना सिंह ठकुरीले पाइन् । उनले खुस्मा फिल्मबाट यो पुरस्कार पाएकी हुन् । पटकथातर्फ छक्का पञ्जा-५ बाट दीपकराज गिरीले पाएका छन् भने छायांकनमा पीताम्बर फिल्मबाट पुरुषोत्तम प्रधानलाई पुरस्कार प्रदान गरिएको छ ।
नेवारी फिल्म लगायबनले आदिवासीतर्फ उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ । दिनेश राउतको निर्देशन रहेको फिल्म पुजार सार्कीले जुरी अवार्ड प्राप्त गर्न सफल भएको छ ।
सबै विधामा उत्कृष्टलाई नगद २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ । वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजार सहित दीर्घ साधना सम्मान पनि चलचित्र विकास बोर्डले प्रदान गरेको छ ।