काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रंगशाला बनाउन सुरु गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५, आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रंगशाला बनाउन सुरु गरिएको हो ।
गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरु भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१/८२ देखि बनाउन सुरु गरेको उनले बताए ।
समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा यो ठाउँ रहेको छ । निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएको उनले बताए । मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ । राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको छ ।
मैदानमा पीच बनाउन क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता र अनुभवीहरूको परामर्शमा काम भइरहेको छ । अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उनको सम्मान सँगसँगै नयाँनयाँ प्रतिभा उत्पादन गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीको छ ।
क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ-नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाका अध्यक्ष तिवारीको छ । उनका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ बनाइने छ ।