काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ फेसबुकमा छोटो समय अन्तरमा दुईवटा पोस्ट गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) ले निरन्तरता पाउने जनाएका छन् । उनले लेखेका छन्, ‘एनपीएल रोकिनु हुँदैन ।’ अर्को पोस्टमा ‘एनपीएल हाम्रो राष्ट्रिय गौरव, भव्य तयारी गर्नुस्’ लेखेका छन् ।
गत डिसेम्बरमा एनपीएल–१ आयोजना भएको थियो । पहिलो संस्करणलगत्तै यसको आर्थिक पारर्शितालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारबाट आवश्यक कारबाहीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पुगेको थियो, जसको छानबिन गर्न राखेपले एउटा कार्यदल बनाएको छ ।
यसअघि नै बनेको कार्यदललाई हटाउँदै राखेपका अध्यक्षसमेत रहेका खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनमा बनेको अर्को छानबिन कार्यदलले यसअघि पठाइएका प्रश्नको जबाफ चित्तबुझ्दो नआएकाले ‘छानबिन कार्य सम्पन्न नहुँदासम्म एनपीएल सम्बन्धी कुनै कार्य नगर्नु नगराउनु हुन समेत जानकारी गराइन्छ’ भनेर पत्राचार गरेको थियो । आफ्नो कार्यक्षेत्र बाहिर गएर पठाइएको यस पत्रका कारण खेलकुदमन्त्री चौधरीको चौतर्फी आलोचना भइरहेको थियो ।