काठमाडौँ । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो दोश्रो खेलमा बुधबार नेपालले श्रीलंकासँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।
पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा श्रीलङ्का एक सय ५९औं स्थानमा छ । गएको आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने श्रीलंका उज्वेकिस्तानसँग १०–० गोलले हारेको थियो ।
समूह एफमा रहेको नेपाल तीन अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ भने उज्वेकिस्तान शीर्ष स्थानमा छ । लाओस तेश्रो र श्रीलंका तालिकाको पुछारमा छ । यस्तै प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार २१ गते शनिबार उज्वेकिस्तानसँग खेल्नेछ ।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।