काठमाडौँ । त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु भएको छ । यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले बताए ।
रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ ।
पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र त्यसमध्ये आज पहिलो भागको ढलान सुरु भएको कण्ठले जानकारी दिए ।
प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ वटा फ्लडलाइटसमेत जडान हुँदैछन् । यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिए ।