काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले सरस्वती युवा क्लबका खेलाडी धिरेन्द्र बहादुर शाहमाथिको निलम्बन फुकुवा गर्दै जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग २०८१ मा सहभागी हुन अनुमति दिएको छ ।
यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले शाहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर सो निर्णयविरुद्ध परेको अपिलको आधारमा अपिल कमिटीले पहिलेको निर्णयहरूलाई बदर गर्दै शाहलाई पुनः खेल्न पाउने बाटो खुला गरिदिएको हो ।
साथै अपिल कमिटीले नयाँबस्ती युवा क्लब र सरस्वती युवा क्लबबीच भएको खेलमा प्रतियोगिता कमिटीले नयाँबस्तीको पक्षमा दिएको ३-० को नतिजा उल्टाउँदै सरस्वती युवा क्लबको पक्षमा निर्णय सुनाएको छ । उक्त खेल सरस्वतीले १-० ले जितेपनि समितिले नयाँवस्तीको पक्षमा निर्णय सुनाएको थियो ।
एन्फाको निर्णयअनुसार अब सरस्वती क्लबले उक्त खेलको जित आफ्नो पक्षमा पाउनेछ र धिरेन्द्र शाह पनि लिगमा सहभागी हुन पाउनेछन् ।