कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को मुख्य प्रायोजन, हिमाल फ्रेन्डस क्लबको आयोजनामा आयोजित प्रथम वडा अध्यक्ष टी-२० क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ११ निलोले जितको छ ।
शनिवार सम्पन्न खेलमा पुनर्वास १० लाई ५ विकेटले पराजित गर्दै वडा नम्बर ११ प्रतियोगिताको च्याम्पियन बनेको हो । साथै च्याम्पियन बनेको पुनर्वास ११ ले नगद ८२ हजार २ सय २२ नगद समेत प्राप्त गरेको छ भने वडा नम्बर १० ले नगद ४१ हजार एक सय ११ मा चित्त बुझाउनुपरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुनर्वास १० ले २० ओभरमा १५१ रन बनाएको थियो ।
१५२ को टार्गेटलाई पुनर्वास ११ ले १५ ओभरमै पुरा गर्दै पाँच विकेटले विजयी भएको हो । प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने पुनर्वास ११ का महेश अधिकारी म्यान अफ द म्याच घोषित भए भने ११ कै रोहित मल्ल उत्कृष्ट बलर र प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै वडा नम्बर १० का शैलेश के.सी उत्कृष्ट ब्याटस म्यान घोषित हुँदा राईजिङ प्लेयर पुनर्वास ११ रातो टिमका कप्तान पारस सिहँ घोषित भएका हुन् । उनीहरूलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा नगरपालिकाका ११ वटै वडाको सहभागिता रहेको थियो । वैशाख ११ गतेदेखि सुरु भएको प्रतियोगिता आज शनिवार सम्पन्न भएको हो । समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्यालले यस प्रतियोगिताले खेलाडीहरूले आफ्नो प्रतिभा देखाउने भएकाले वडाका खेलाडीलाई केही न केही राहत हुने विश्वास व्यक्त गरे ।
यस्तै उनले वडाबाट नै यस्ता प्रतियोगिता आयोजना गर्ने सोच बनाएको तर वडाबाट आयोजना गर्दा केही झन्झटिलो हुने भएकोले सो क्बलसंग समन्वय गरेर खेल खेलाइएको जानकारी दिँदै फेरि पनि अर्को वर्षमा दोस्रो वडा अध्यक्ष टी २० प्रतियोगिताको आयोजना गर्ने प्रतिबद्धता जनाए ।