भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य थालेको छ।
महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढुंगाको सोलिङको काम तीव्र गतिमा भइरहेको छ। निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको परीक्षण महानगरपालिकाको प्रयोगशालामा भइरहेको छ भने रडको परीक्षणका लागि काठमाडौं पठाइएको छ।
समयमा काम पूरा गर्न निर्देशन
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न निर्माण कम्पनीका प्रमुख र प्राविधिकहरूलाई अनुरोध गर्दै महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनले कुनै समस्या आएमा तत्काल समाधान गर्न कर्मचारीहरूलाई निर्देशनसमेत दिएकी छिन्। साथै, निर्माणमा सहजीकरण गर्न महानगरपालिकाले निर्माणस्थलमा कार्यालय स्थापना गर्ने योजना रहेको उनले बताइन्।
१० हजार दर्शक अटाउने प्यारापिट
महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार १० हजार दर्शक अटाउने प्यारापिटसहितको मैदान तयार गरिनेछ। रंगशाला निर्माणको कुल लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको छ। निर्माण कार्य ०८३ पुस २२ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ।
प्रदेश सरकारको सहयोग
चालू आर्थिक वर्षमा संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख बजेट विनियोजन गरेका छन्। बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ।
धुर्मुस सुन्तलीद्वारा प्रारम्भ
सुरुमा धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माण सुरु गरेको थियो, जसअन्तर्गत पाँच हजारजना अटाउने प्यारापिट तयार गरिसकिएको छ। २८६ वटा पिलरहरू खडा भइसकेका छन्। यो रंगशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा १९ कट्ठा जग्गामा निर्माण भइरहेको छ।