कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा प्रथम आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सरस्वती पुजाको अवसरमा नेपाल रेडक्रस सोसाईटी उपशाखा बाइसी बिचवाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता सोमबार पुनर्वास नगरपालिका वडा नम्बर ११ को राष्ट्रिय माविको प्राङ्गणमा सम्पन्न भएको हो ।
साबिक वाईसिबिचवा गाविस लालझाडी गाउँपालिका वडा नम्बर १ र पुनर्वास नगरपालिका १० र ११ का सामुदायिक तथा संस्थागत विद्यार्थीहरूको आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक भुपेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार लालझाडी गाउँपालिका वडा नम्बर १ र पुनर्वास नगरपालिका १० र ११ बाट ९ सामुदायिक तथा संस्थागत विद्यालयहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा पपुलर बोर्डिङ स्कुल प्रथम, कञ्चन पब्लिक द्वितीय र फारवेष्ट स्कुल तृतीय भएका छन् । यो सँगै पपुलर बोर्डिङले नगद ५ हजार एक सय साथमा ट्रफी पाएको छ भने कञ्चन पब्लिकले ३ हजार १ सय र फारवेष्ट स्कुलले २ हजार १ सय साथमा ट्रफी प्राप्त गरेका छन् । विद्यार्थीमा किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञान पनि हुनु आवश्यक रहेकाले सो हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा बाइसी बिचवाका सभापति बालकृष्ण शर्माले जानकारी दिए ।
सो कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको कार्यक्रमका सहभागीहरूले बताएका थिए । नेपाल रेडक्रस सोसाईटी उपशाखा बाइसी बिचवाका सभापति बालकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पुर्नवास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी राना प्रमुख अतिथि रहेकी थिइन् ।
यस्तै कार्यक्रममा विजय मावि भिमबस्ती,शारदा राष्ट्रिय मावि नौरङ्गा,दुर्गा सेकेन्डरी स्कुल विकास बस्ती,फारवेष्ट स्कुल भिमबस्ती,पशुपति स्कुल अमर बस्ती,पपुलर स्कुल अमर बस्ती,आदर्श बोर्डिङ स्कुल भिमबस्ती,राष्ट्रिय मावि अमर बस्ती र कञ्चन पब्लिक स्कुल अमरबस्तीको सहभागिता रहेको थियो ।