काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठको टेलिफोन संवादका विषयमा संघीय संसदको दुवै सदनको बैठकमा अधिकांश सांसदहरुले प्रश्न उठाएका छन् ।
सोमवार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सांसद श्रेष्ठको टेलिफोन संवादको विषयमा सांसदहरुले छानबिन गर्न माग राखेका हुन् ।
आइतवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएको विषयमा सोमबारको दुवै सदनको बैठकमा सांसदहरुले उक्त विषय उठान गरेका छन् ।
अधिकांश सांसदले बैठकमा सांसद श्रेष्ठलाई कारबाही गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् । सांसदहरुले सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप पनि लगाएका छन् ।
सांसदहरुले मन्त्री बन्नका लागि घुस माग्ने सांसदलाई सरकारले त्यसै छोड्न नहुने भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद छानबिन गर्न संसदीय समिति गठनको माग गरे ।
उनले श्रेष्ठको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित रहेको भन्दै संसदले संसदीय समिति बनाएर निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । फोन संवादमा साढे २ करोड रुपैयाँ कोर टिमलाई बुझाउनुपर्छ भनेको भन्दै कोर टिमको समेत छानबिन आवश्यक रहेको बताए ।
सांसद गुरुङले संसद सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद चुप लागेर बस्न नहुने भन्दै संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गरे । त्यस्तै, बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको बताए ।
उनले गठबन्धन सरकारकै सांसदले स्वास्थ्य मन्त्री हुन मेडिकल व्यवसायीसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको बताए । उनले गठबन्धनका नेताहरुले घुस काण्डका विषयमा संसदमा जानकारी दिन माग समेत गरे ।
त्यस्तै, राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद दिलकुमारी थापा रावल ९पार्वर्ती० ले दुई करोड घुस माग्ने सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन् ।
उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले सांसद श्रेष्ठले घुस माग गरे÷नगरेको सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने बताईन् । उनले त्यस्ता घटना सत्य भए÷नभएको तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताइन् । सांसद रावलले सरकारलाई संविधान र कानूनअनुसार अघि बढ्न पनि ध्यानाकर्षण गराइन् ।
त्यस्तै, नेकपा एमालेका सांसद ऋषिकेश पाखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुगेछ भन्दै व्यङ्ग्य गरे । उनले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुग्दा अरु मालदार मन्त्रीहरुको कति होला रु भन्दै प्रश्न गरे । उनले भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करमा पर्नसक्ने चेतावनी दिए ।
त्यस्तै, राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहोराले ८७५ जना नेपालीलाई भुटानी बनाउने राजनीतिक संलग्नता ५० लाख असुल गरिएको विषयहरु बाहिर आउन नपाउँदै सांसदले २ करोड घुस मागेको अडियो बाहिर आएको बताए ।
उनले स्वास्थ्यमन्त्री बन्ने सांसद श्रेष्ठले व्यवसायीलाई मन्त्री बनेर अस्पताललाई दिने लेटर अफ इन्टेन शिक्षा मन्त्रालयले दिन्छ भन्ने ज्ञान समेत नभएको देखिएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागे ।
उनले अडियो सार्वजनिक घटनाले प्रतिनिधि सभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचना गरे । उनले संसदको गरिमा बढाउने रास्वपाको अभियानमा अक्षुण्ण रहने भन्दै यो घटनाले विचलित हुने नहुने बताए ।