धनगढी । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका सचिव एवम् माओवादीका पूर्वनेता लेखराज भट्टको घरमा पुगेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड धनगढीको गेटा विमानस्थलबाट सिधै भट्टको निवासमा आएका हुन् । प्रचण्डले भट्टसँगै उनका परिवारका सदस्यसँग कुराकानी गरेका हुन् ।
युद्धको समय र त्यसपछि पनि प्रचण्ड भट्टको घरमा बस्दै आएका थिए । भट्टको घरमा प्रचण्डका लागि छुट्टै कोठा पनि थियो । प्रचण्डका निकट मानिने भट्टले अहिले पार्टी फरक भए पनि पुराना अग्रज नेताको रूपमा प्रचण्डलाई घरमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँछन् ।
यस्तै प्रधानमन्त्री प्रचण्डले पनि भट्टको घर अहिले पनि आफ्नैजस्तो लाग्ने गरेको उल्लेख गरे। माओवादीका प्रभावशालीमध्येका एक नेता भट्ट एमाले र माओवादी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजन हुँदा माओवादी छाडेर एमालेमै बसेका हुन्।