काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय व्यवस्थाले छिट्टै नयाँ फड्को मार्ने बताएका छन् । बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका हुन्।
‘नेपाली जनताको त्याग र बलिदानबाट संविधान निर्माण भइ परिवर्तन र सामाजिक रुपान्तरणका मुद्दा संस्थागत गरिएको भए पनि संविधानले परिकल्पना गरेअनुरुप संघीय र प्रादेशिक ऐनहरु निर्माण हुने क्रम पनि अझै जारी छ,’ उनले भने ‘संविधानले व्यवस्था गरेअनुरुप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको सही विन्यास गर्न संघीय कानूनहरु यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व हाम्रोअघि छ। केही ऐनहरु संघीय निजामति ऐन, प्रहरी समायोजन ऐन अघि बढीसकेको छ। संघीय शिक्षा ऐन जस्ता ऐनहरु निर्माण प्रक्रियाको अन्तिम चरणमा छन्। त्यसलाई छिटै हामी सदनमा प्रश्तुत गर्नेछौँ। कतिपय संघीय कानूनहरु समेत एकअर्कासँग बाझिएको परिस्थितिमा त्यसको समाधान निम्ति केन्द्र सरकारले समन्वयकारी खेल्नुपर्छ र त्यो भुमिका खेलिरहेको छ। उल्लेखित ऐनहरुले निर्माण र संशोधनको प्रक्रिया पूरा हुँदा हाम्रो संघीय व्यवस्था र अभ्यासले नयाँ फड्को मार्नसक्छ।’
प्रधानमन्त्री दाहालले आफू सरकारलाई पूर्णता दिने काममा व्यस्त भएको बताउँदै सरकार बिस्तारपछि सबै निकायसँग समन्वय अघि बढाउने काममा लाग्ने बताए।