काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राम्रा र धेरै मन्त्रालय दाबी गर्ने भएको छ । आज बस्ने गठबन्धन बैठकमा राम्रा र धेरै मन्त्रालय दाबी गर्ने निर्णय गरेको सो पार्टीका नेताहरूले बताएका छन् । साथै सो पार्टीले सरकारमा सहभागी हुन कम्तिमा तीनवटा मन्त्रालयबाट पछि नहट्ने अडान राख्ने भएको छ ।
मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले आफूहरूले दाबी गर्दै आएका तीन मन्त्रालयबाट पछि नहट्ने निर्णय गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । नेता ज्वालाले गठबन्धनमा आफूले पाउने मन्त्रालयको सङ्ख्या टुङ्गो लागेपछि सरकारमा पठाउने नेताहरूको नाम टुंग्याउने गरी छलफल भएको पनि बताए ।
पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा मापदण्ड बनाएर सोही मापदण्डका आधारमा मन्त्री छनोट गर्ने समाजवादीले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीले गृह मन्त्रालयसहित तीन मन्त्रालय पाउनुपर्ने प्रधानमन्त्री प्रचण्डसमक्ष प्रस्ताव पुर्याइसकेको छ । गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भए पनि तीन मन्त्रालयबाट घट्न नसक्ने मंगलबार प्रधानमन्त्रीलाई भेटेर नेताहरूले भनिसकेका छन् ।
तर प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृतलाई दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन् । यस्तै प्रदेशसम्म प्याकेजमै भागबन्डा हुँदा कुनै एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेशमा सहभागिता रहनुपर्ने प्रस्ताव गठबन्धन बैठकमा राख्ने तयारी सो पार्टीका नेताहरूको भनाइ छ ।
स्रोतका अनुसार एकीकृत समाजवादीले तीन मन्त्रालय पाए पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी गरिसकेको छ ।