काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताएका छन् ।
आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उनले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताए ।
प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन लागिपरेको बताउँदै उनले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको समग्र सुरक्षा भएकोमा जोड दिए ।
उनले भने, ‘राष्ट्रिय सुरक्षाका विषयमा सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायत पक्षलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ ।’
नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको उल्लेख गरे । उनले भने, ‘विश्व परिवेशमा भइरहेका घटनाका कारण हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यो तथ्य नेपालजस्ता मुलुकका लागि झन् बढी महत्वपूर्ण हुने गर्दछ ।’
राष्ट्रिय सुरक्षाका सम्बन्धमा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासका साथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले सुरक्षामा महत्व राख्ने उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले नेपालको संविधानले निर्देशित गरेको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।