काठमाडौँ । सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना पनि अघि बढाएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यो जानकारी गराएका हुन् ।
सोमवार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत निर्देशनमा यो कामलाई सुरु गरिएको पनि स्पष्ट पारे । उनले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले त्यो कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनुपरेको स्पष्टीकरणसमेत दिए ।
उनल भने, ‘सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो । अहिले अङ्ग्रेजीमा छ । तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्रीसमेतको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्ययोजना अगाडि बढाएको छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले यो कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अब सरकारले यो कामलाई तीव्रता दिने पनि बताए ।