काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलका बीचमा मन्त्रालयको भागबण्डा नटुङ्गिएको बताएका छन् । आइतबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुङ्गिएको बताएका हुन्।
उनले गठबन्धन दलका नेताका बीचमा छलफल भइरहेको भए पनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुङ्गो नलागेको बताए। उनले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताए।
उनले भने, ‘‘नेपाली कांग्रेसले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन। नेपाली कांग्रेस मात्रै होइन कुनै पनि दलले कुन मन्त्रालय लिएर सहभागी हुने भन्ने बारेमा अन्तिम निर्णय भइसकेको छैन। अहिले सबै कुरा छलफलको क्रममा छ। छलफल घनिभूत रुपमा प्रधानमन्त्रीले समन्वय गरेर गरिरहनुभएको छ। गठबन्धन दलका नेतासँग पनि छलफल भइराखेको छ। अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालयमा सहभागी हुने भन्ने कुरा टुङ्गो लागेको छैन। नेपाली कांग्रेस पार्टीको तर्फबाट औपचारिक रुपमा को–को जाने, कसले नेतृत्व गर्ने भन्ने बारेमा औपचारिक निर्णय भइसकेको छैन।’’
उनले आगामी तीन दिन भित्रमा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलसँग संवाद गरिरहेको भन्दै तीन दिनभित्रमा सरकारले पूर्णता पाउने उनले बताए।
उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार विस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गरे। सबैको सहभागिता र उचित प्रतिनिधित्व हुनेगरी सबैको सहमतिमा सरकारलाई पूर्णता दिइने उनको भनाइ छ।