काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेको बताए ।
यसअघि, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । यद्यपि, अल्पमतमा परे पनि मुख्यमन्त्री लीला गिरीले राजीनामा दिएका छैनन् ।
सङ्घीय सरकारमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो । नेता चौधरीलाई नेपाली कांग्रेस, (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी, लोसपाका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका नेता चन्द्रकेश गुप्ता, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा (एकीकृत समाजवादी) का नेता भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन माग गरेका हुन् ।