काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ।
पार्टी केन्द्रिय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। पर्सीसम्ममा मन्त्रीपरिषदलाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो। त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएका सचिव पौडेलले बताए।
बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका थिए।