ओखलढुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन्।
नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आज आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताएका हुन्।
लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताए। नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे।
देशमा राजनीतिक स्थायित्व नहुँदा नेपालीहरुले दुःख पाएको बताउँदै उनले अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए।