काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौंले राहदानी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको छ।
उनीविरूद्ध मुद्दा नचलाउने निर्णयसहित प्रतिवेदन उच्च सरकारी वकिल कार्यालय पाटनमा बुझाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।
कुनै पनि मुद्दा नचलाउने निर्णय भएमा उच्च सरकारी वकिलको कार्यालयमा प्रस्ताव गर्नुपर्छ। उक्त प्रस्ताव अध्ययन गरी उच्चले पनि मुद्दा नचलाउने भए महान्यायाधीवक्ता कार्यालयमा पठाउनुपर्ने न्यौपानेले बताए।
लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी दुरूपयोग गरेको अध्यागमन विभागको रेकर्डबाट पनि नदेखिएको कुरालाई पहिलो आधार मानेको छ। दोस्रो आधार अमेरिकी नागरिक हुनुअघि उनी वंशजको आधारमा नेपाली नागरिक रहेको र विदेशी नभई गैरआवासीय व्यक्तिसरह रहेको मानेको छ।
झुठा विवरण पेश गरी नेपाली राहदानी लिएको भन्दै लामिछानेविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको थियो।त्यस्तै त्याग गरिसकेको नागरिकताको आधारमा निर्वाचन जितेर सांसद बनेको भन्दै उनीविरूद्ध सर्वोच्चमा रिट परेको थियो।
सर्वोच्चले उक्त रिटमा गत माघ १३ गते आदेश दिएको थियो। सर्वोच्चले उनको सांसद पद खारेज गरेको थियो। त्यतिबेला उनी उपप्रधान तथा गृहमन्त्री समेत थिए। आदेश आएसँगै उनले मन्त्रीबाट राजीनामा दिएका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर उनले पुनस् नागरिकता प्राप्ति गरेका थिए। यस्तै निष्क्रिय भएको नागरिकताबाट लिएको राहदानी पनि फिर्ता गरेका थिए।