काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताएका छन्।
बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा शुरुवात भएको क्षेत्रीय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, बिस्तार र विविधीकरण गर्न आवश्यक रहेको बताए।
नयाँ गन्तव्यस्थलको खोजी गर्ने, लगानी बढाउने, एकीकृत पर्यटन पूर्वाधारको विकास गर्ने, प्रविधीकरण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामीण तहसम्म वितरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
मन्त्री किराँतीले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आवागमनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, प्राप्त लाभको समन्यायीकरण वितरण गरी गरिबी निवारण गर्नुपर्ने बताए।
मन्त्री किराँतीले सही तथ्यांकको अभावमा निर्माण गरिने योजना वा कार्यक्रम व्यवहारिक नहुनुका साथै त्यसले दिने प्रतिफल कम भइरहेको पनि बताए। नेपालको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक र हाम्रो आन्तरिक तथ्यांकमा अन्तर देखिएको भन्दै यसका लागि नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा काम गरिरहेको उनले स्पष्ट पारे।