काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार ‘नेपाल–चाइना बिजनेस फोरम २०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्ताका लागि सरकारले एकल बिन्दु सेवा सुरू गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ-नयाँ प्रविधिको आवश्यकता रहेको छ। चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ। सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुने गरी वातावरण बनाउन प्रतिवद्ध रहेको छ।’
उनले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे। उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको उल्लेख गरे ।
उनले भने, ‘पछिल्लो समयमा चीन सरकारले प्रतिवद्धता गरे अनुसारको लगानी आउन सकेको छैन, त्यो अरुलाई दोष दिनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो । ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ।’
उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए । प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिवद्धता गरे अनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरैभन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।
प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीकाविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।