काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताएका हुन् ।
‘पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ,’ उनले लेखेका छन् ।
अध्यक्ष राउतले राष्ट्रपतिको स्थान आफैंमा प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै एउटा गाउँमा आमजनताको घरमा जन्मेको व्यक्ति त्यसमा पनि अझ एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा बताए ।
उनले लेखेका छन् ”सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू ७ वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी बहन गरेर आज बिदा हुँदै हुनुहुन्छ। पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ।”
साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेललाई सफल कार्यकालको लागि पनि उनले शुभकामना दिएका छन् ।