काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र सहज नरहे पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभामा उनले हाल मुलुकसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेकाले अर्थतन्त्र सुधारतर्फ रहेको दाबी गरे ।
अब आर्थिक गतिविधिलाई चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ नै सरकारको ध्यान गएको उनले बताए ।ब्याजदरलाई एकल बिन्दुमै सीमित राख्नका लागि आफूले राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको दाहालले बताए ।
नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको हुनाले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको उनले बताए । हाल मुद्रास्फिति नियन्त्रणभित्रै रहेको उनले बताए ।
कोभिड महामारी, बाहृय युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारणले केही निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण क्षेत्रको लागतसमेत बढ्न गएको दाहालको भनाइ छ ।