वालिङ। मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन।
मङ्सिर ४ गते सम्पन्न भएको मतदानबाट मतदाताले प्रदान गरेको मतपेटिका नगरपालिका भित्रको एक कोठामा राखिएको छ। मतपेटिका भित्र थन्क्याएपछि एमाले सडकमा आन्दोलन गर्न पुगेपछि मतगणना अलपत्र परेको छ।
चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ। कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ। दुवै दल अहिले सडकमा धर्ना दिइरहेका छन्।
चापाकोट नगरपालिका वडा नम्वर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो।
यसैबीच, निर्वाचन आयोगले गठन गरेको छानबिन टोली स्थलगत अवलोकन तथा छलफलपछि शनिबार काठमाडौं फर्किएको छ। टोलीले जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनैतिक दललगायतसँग छलफल गरेको थियो। टोलीलाई तीन दिन भित्र अर्थात् मंसिर १२ भित्र प्रतिवेदन बुझाउने समय तोकिएको छ।