काठमाडौं। पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन्।
आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गरे भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत पाए।
स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले एक सय १५ प्राप्त गरे।
प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो। जसमध्ये एक हजार चार सय सात मत बदर भएको छ। गत प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ को क्षेत्र नं १ (२) मा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको भए।
योसँगै नेकपा एमालेले पाल्पाका दुवै प्रतिनिधि सभा क्षेत्र जितेको छ।
यसअघि, पाल्पा क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्।
पाल्पाका दुई प्रदेश सभा क्षेत्र एमालेले, एक क्षेत्र नेपाली कांग्रेसले र एक क्षेत्र नेकपा माओवादी केन्द्रले जितेको छ।