स्याङजा। मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको स्याङजा–२ मा मतगणना नभएको विषयमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
चाँडो मतगणना सुरु गर्न माग गर्दै आएको कांग्रेसले अहिलेसम्म पनि निर्वाचन आयोगले कुनै निर्णय नगरेको भन्दै शुक्रबार बिहान ११ बजेदेखि बजारमा प्रदर्शन गर्ने तयारी गरेको थियो।
मतगणनाको माग गर्दै कांग्रेसका कार्यकर्ताहरु वालिङ बजारतर्फ अगाडी बढेपछि पुनःमतदानको माग राखेर धर्नामा बसिररहेका एमाले कार्यकर्ता बीच झडप हुनसक्ने भन्दै प्रहरीले बीचमा नै रोक्न खोाजेपछि कांग्रेस कार्यकर्ता र प्रहरीबीच केहीबेर दोहोरो हानाहान भएको हो। प्रहरीले दुबै दलका कार्यकर्ताबीच झडप हुने अवस्था आएकाले कांग्रेसको जुलुसलाई रोकिएको जनाएको छ।
सम्बन्धित समाचारः
निर्वाचन विवादः बाजुरामा भोलि मतदान, दोलखा र स्याङ्जा घटनाको अनुसन्धान हुँदै
अहिले पनि स्याङजाको वालिङ बजार तनावग्रस्त छ। मंसिर ४ गते मतदान सकिएपनि अझैसम्म दलीय सहमति नजुटेकाले मतगणना सुरु भएको छैन। निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा तीन सदस्यीय टोली स्याङजा पठाएको छ।
आज शुक्रबार उक्त टोली स्याङजा पुगेर छलफल गरेपछि मात्रै मतगणना सुरु गर्ने वा विवाद भएका क्षेत्रमा पुनः निर्वााचन गराउने भन्ने निर्णय हुनेछ।
निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै स्याङजा–२ को मतगणना सुरु हुने भएपछि अहिले दुबै पक्षका कार्यकर्ता धर्नामा बसेका छन्। प्रदेश र प्रतिनिधिसभाको मंसिर ४ मा मतदान सम्पन्न भएपनि नेकपा एमालेले विवाद निकालेपछि जिल्लास्तरीय छलफलबाट दलीय सहमति जुटेको छैन। एक पक्ष मतगणना गर्नुपर्ने र अर्को पक्ष पुनःमतदान गर्नुपर्ने अडानमा छ।
तत्काल मतगणना सुरु गर्नुपर्ने माग राख्दै स्याङजा–२ मा नेपाली काग्रेसले धर्ना दिँदै आएको छ। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज गुरुङसमेत चाँडो मतगणनाको माग गर्दै धर्नामा बसेका छन्। वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुटेको छैन।
दलहरु आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो। निर्वाचन अधिकृतको कार्यालयमा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याई सुरक्षित राखिएको स्याङ्जा क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए।
लोकतान्त्रिक वाम गठबन्धनले तत्काल मतगणना सुरु गर्न दवाव दिइरहेको छ। नेकपा एमालेले पुनः मतदानको माग गर्दै दवाव दिइरहेको छ।
नेपाली कांग्रेसले स्याङ्जाको चापाकोट नगरपालिका–३, ४ र ५ का चारवटा मतदान केन्द्रमा बुथ कब्जा गरी धाँधली गरेको आरोप एमालेले लगाउँदै ती ठाउँमा पुनः मतदान गर्नुपर्ने माग गरेको छ। कांग्रेस भने प्रक्रिया पूरा भएर निर्वाचन कार्यालयमा सुरक्षित आएको जनताको अभिमतलाई सम्मान गर्दै तत्काल मतगणना गरेर निकास निकाल्नुपर्ने अडानमा छ।
एमालेलगायत दलहरुले पुनः मतदानको माग गर्दै सडकमा विरोध प्रदर्शन जारी राखेका छन्। कांग्रेसले पनि मतगणना गर्नुपर्ने माग राख्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि वालिङमा धर्नामा बसेको छ।
कांग्रेसका कार्यकर्ताहरु रातभरि नै सडकमै बसेका थिए। दुवै पक्षले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएपछि सम्भावित घटनालाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। ओयागको केन्द्रीय टोली केहीबेरमा स्याङजाको वालिङ पुग्दैछ।