काठमाडौं। मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
बाजुरा, दोलखा र स्याङ्जा क्षेत्र नं २ मा भएको विवादको छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए।
बाजुराको बुढीनन्दा ५ मा मतदानको दिन झडप भएर मतदान स्थगित भएको थियो भने दोलखा र स्याङ्जा २ मा मतदानमा बुथ कब्जा भएको आरोपसहित निर्वाचन आयोगमा निवेदन परेर मतगणना रोकिएको छ।
आयोगमा सूचना अधिकारी अर्यालका अनुसार बाजुरामा स्थगन भएको मतदान भोलि शनिबारलाई तोकिएको छ।
मतगणना गणना रोकिएका दुई वटा क्षेत्रको भने अहिले अनुसन्धान भइरहेको अर्यालले बताए। उनले भने, ‘मतदान स्थगन भएको बाजुरामा भोलि शनिवार मतदानका लागि प्रक्रिया अघि बढेको छ भने मतगणना हुन बाँकी दुई निर्वाचन क्षेत्रको अनुसन्धान भइरहेको छ। अनुसन्धानपश्चात् यसको कारबाही थालिनेछ।’
दोलखा र स्याङ्जा क्षेत्र नं २ मा गठबन्धन पक्षले बुथ कब्जा गरी मत खसालेको भन्दै प्रतिस्पर्धी उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका छन्।