काठमाडौं। जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ। १० वटै क्षेत्रको मतगणना अलग–अलग स्थानमा हुनेछ।
काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं. ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ।
त्यस्तै, काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, ७ को बालाजुस्थित जुडो हलमा ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, ९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी छ।
प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको अनुमान गरिएको छ।