काठमाडौं। दार्चुलाको एक मतदानस्थलमा विवाद उत्पन्न भएपछि हवाइ फायर गरिएको छ।
जिल्लाको शैल्यशिखर नगरपालिका–५ स्थित ग्वानी बगौराको मालिकार्जुन मावि मतदान स्थलमा प्रहरीले हवाइ फायर गरेको हो।
विवाद पैदा भएपछि त्यहाँको मतदान प्रक्रिया रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मत हाल्ने क्रममा दुई पक्षबीच विवाद भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको थियो।
अहिले मतदान पुनः सुचारु गर्नका लागि विवाद गर्ने पक्षहरुबीच सहमतिको प्रयास गरिँदैछ। एकजनाको नामबाट अर्कैले मत हालेपछि विवाद भएको थियो।
बझाङमा लात हानेर मतपेटिका फुटाइयो
बझाङमा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएका छन्। फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ।
स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको मतदान अहिले सुचारु भएको छ।