काठमाडौं ।आज संघीय निर्वाचन हुँदैछ। निर्वाचन आयोगले देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्न लागेको हो।
आगामी पाँच वर्षका लागि सङ्घ र प्रदेशमा नेतृत्व चयनका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउनेछन्। आयोगले प्रत्यक्ष तथा समानुपातिकतर्फ आज एकसाथ मतदान गर्ने तयारी गरेको हो।
निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरिसकेको छ भने निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि सबैलाई अपिल गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित ढङ्गले सम्पन्न गर्नका लागि कडा सुरक्षाको व्यवस्था गरेको बताइसकेका छन्।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण कार्य शनिबार नै सकिएको छ।