धनगढी । कैलालीमा भारतबाट नगद र सुनका गरगहना चोरीको आरोपमा प्रहरीले पक्राउ परेका एक युवक फरार भएका छन् । कात्तिक अन्तिम साता जिल्लाको गोदावरी नगरपालिका १० को खमौराबाट उनी हतकडीसहित भागेका हुन् । कार्तिकमै भागेकोमा उनी अहिलेसम्म फरार छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका १० को खमौराबाट भक्तबहादुर बिक हतकडीसहित भागेका थिए।तर प्रहरीले गोदावरीको जंगलमा उनलाई लगाएको हतकडी फेला परेपनि उनी अझै नभेटिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भारतस्थित राजस्थानको जोतपुरबाट चोरी गरेको आरोपमा घरबाट पक्राउ गरेर हतकडी लगाइएका बिक स्थानीयको अवरोधका कारण भागेको बताए।
जोशीकाअनुसार महिलाहरुले प्रहरीमाथि हातपात गरेपछि बिक हडकडीसहित भाग्न सफल भएका थिए । गोदावरीको स्थानीय जंगलमा हतकडी फेला परेपनि बिक नभेटिएको डीएसपी जोशीले बताए ।
उनलाई पक्राउ गरेको दिन स्थानीयको एक समूहले प्रहरीमाथि हातपात गरेपछि तीन जना घाइते भएको पनि प्रहरीको दाबी छ । बिक भागेपछि प्रहरीमाथि हातपात गर्ने सोही ठाउँमा पाँच जनालाई पक्राउ गरिएको थियो । तर सार्वजनिक मुद्दा चलाइएका उनीहरु जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर छुटिसकेका छन् ।