काठमाडौँ । भोलि(आइतबार)हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि काठमाडौँबाट गृह जिल्ला जानेको सङ्ख्या बढेको छ । कतिपय दल र उम्मेदवारले बस नै रिजर्भ गरेर मतदातालाई काठमाडौँबाट लगिरहेका छन् भने धेरै मतदाता आफैँ टिकटको व्यवस्था गरेर भोट खसाल्न जाँदैछन् । अहिले नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, कलङ्कीमा यात्रुको भिड छ ।
उम्मेदवारले नै बस रिजर्भ गरेर लैजाने व्यवस्था मिलाएका र आफू परिवारसँगै भोट खसाल्न जान लागेको काठमाडौँको बालुवाटार बस्दै आएकी बर्दिया मधुवनकी हरिकला चौधरीले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर पछिल्लो तीन दिनमा झण्डै दुई लाख जना बाहिरिएका छन् ।
आज बेलुकासम्म नै काठमाडौँ छाड्नेको सङ्ख्या थप बढ्ने अनुमान छ । हिजोदेखि मतदानस्थल रहेका शिक्षण संस्था बन्द भएका र आज शनिवार तथा भोलि र पर्सि सरकारले सार्वजनिक बिदा दिएका कारण भोट खसाल्न जानेहरु बढेका छन् ।
यसपालि दशैँ, तिहार र छठ मनाउन गाउँघर गएका कतिपय चुनावका कारण काठमाडौँ फर्किएका छैनन् । चुनावका लागि मात्रै झण्डै पाँच लाख यात्रु काठमाडौँबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । भोलि भोट हाल्ने दिन अत्यावश्यकबाहेकका सार्वजनिक गाडी चलाउन नपाइने निर्वाचन आयोगले जानकारी गराइसकेको छ ।