काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशका बिभिन्न ठाँउमा शंकास्पद वस्तु भेटिन थालेका छन् ।
शनिबार बिहान करिब सवा ६ बजे विराटनगर महानगरपालिका ३ पुष्पमार्गमा बमजस्तो देखिने वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
यस्तै चितवनको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शंकास्पद वस्तु भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शंकास्पद वस्तु भेटिएको हो।सडक किनारमा रातो रङको झोलामा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शंकास्पद वस्तु भेटिएको स्थान वरिपरि आऊजाऊमा रोक लगाएको छ।हाल शंकास्पद देखिएको वस्तुका बिस्तृत जानकारी लिने र निष्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ पुग्दै गरेको प्रहरीले जनाएको छ।
यस्तै नवलपुरको मध्यविन्दु-१३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद फेला बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।उक्त शंकास्पद बस्तु सेनाको टोलीले आज बिहान डिस्पोज गरेको हो। उक्त शंकास्पद बस्तु बम नभएको प्रहरीले जनाएको छ।
उता सुदूरपश्चिमको दार्चुलामा पनि बम फेला परेको छ । बैतडी र दार्चुलाको सिमामा रहेको गोकुलेश्वर बजार नजिकैको पुलमा शुक्रबार प्रेसर कुकर बम फेला परेको हो । हिजो (शुक्रबार)राती भेटिएको प्रेसर कुकर बम आज बिहान नेपाली सेनाले डिस्पोज गरेको छ ।पुलमा राखिएको प्रेसर कुकरमा माटो मात्रै भएको बताइएको छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरले सो प्रेसर कुकरमा बम नभएर माटो भरेर राखेको जनाएको छ। यस्तै उक्त कुकर राखिएपछि रातिबाट सवारी बन्द रहेका थिए। प्रेसर कुकर हटाएसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। भोली आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।