काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ।
आयोगको कान्तिपथस्थित कार्यालयमा शुक्रबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गरेको हो।
भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराए।साथै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट गरे।
सो अवसरमा प्रमुख आयुक्त थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवम् खटिएका कर्मचारी पुर्याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको भनी प्रशंसा गरे।
निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुन शम्शेर जबराको उपस्थिति थियो। उनीहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताए।