दमक। केही दिनयता झापा दमकको उत्तरी क्षेत्रमा जङ्गली हात्तीका कारण स्थानीयहरू त्रसित बन्नुपरेको छ। ्
दमक वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार हम्सेदुम्से सामुदायिक वन आसपासको क्षेत्रमा ११ वटाको सङ्ख्यामा रहेका हात्तीहरूका कारण त्रास पैदा भएको छ।
एकैसाथ ११ वटा जङ्गली हात्ती स्थानीय जङ्गलबाट गाउँ प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मी र स्थानीयको प्रयासमा जङ्गलतर्फ नै खेदिएको पनि बरालले जानकारी दिए। यसभन्दा अघि दुईचार वटा हात्तीहरू स्थानीय जङ्गल तथा घरगाउँमा देखिए पनि यति धेरै सङ्ख्यामा हात्तीहरू देखेपछि स्थानीयहरू रातभर निदाउन नसकेको वडाध्यक्ष बरालले बताए।
स्थानीय दीपेन्द्र ढुङ्गेलका अनुसार दमकको वडा नं. २ र ३ मा दिनहुँजसो नै हात्ती गाउँमा प्रवेश गर्ने गरेका छन्। यति धेरैको सङ्ख्यामा एकैसाथ हात्ती देखिएको भने यो पहिलो भएको उनले बताए।
रातको समयमा हिँडडुल गर्न डराउनुपर्ने अवस्था आएको र अन्य समय पनि बालबालिकालाई विद्यालय तथा बाहिर कतै पठाउन मुस्किल बन्ने गरेको ढुङ्गेलले बताए।
दमक नगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा रातभर बत्तीको व्यवस्थापन गर्नका लागि कोसिस गरिरहेको दमक नगरप्रमुख रामकुमार थापाले बताए।