बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको लोकतन्त्र खतरामा परेको बताएका छन्। उनले धरापमा परेको लोकतन्त्र संस्थागत गर्नका लागि बुढ्यौलीमा पनि निर्वाचनमा होमिएको बताए ।
सत्ता गठबन्धनको उम्मेदवारको रुपमा केसी बागलुङ निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हुन् । उनले लोकतन्त्र जोगाउन कांग्रेससहितको गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताए ।
बुधबार साँझ गठबन्धनका उम्मेदवारले बागलुङ बजारमा गरेको पत्रकार सम्मेलनमा केसीले जसले संसद् पटक–पटक भत्कायो, उनीहरूबाटै लोकतन्त्र खतरामा परेको टिप्पणी गरे ।
एमाले अध्यक्ष केपी शर्मा समावेश गरेका दल र समूह व्यवस्थाविरोधी भएको पनि आरोप लगाए ।गणतन्त्र आइसक्यो, अब आर्थिक सामाजिक क्रान्ति गर्ने र स्थायी सरकार दिने भनेर वाम गठबन्धनमा लाग्दा ओलीले धोका दिएपछि वर्तमान गठबन्धन बनेको उनले बताए ।उनले लोकतन्त्रलाई खतरामा लैजान विदेशी शक्ति र छिमेकी राष्ट्र पनि लागेको टिप्प्णी गरे ।