काठमाडौं। लोकतान्त्रिक बाम गठबन्धनले संविधानको गठबन्धन दलका उम्मेदवारलाई मतदान गरेर जिताउन अपिल गरेको छ ।
बिहीबार प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गरेर जिताउन अपिल गरेका छन्।
निर्वाचनले विघटनकारी तथा प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने आह्वान विज्ञप्तिमा गरिएको छ।
उनीहरूले कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको दाबीसमेत गरेका छन्।
‘लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ता उत्साहित भएर सहभागी हुनु भएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं। यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरु एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौं,’ संयुक्त अपिलमा भनिएको छ।
गठबन्धनले प्रतिगमनको खतरा अझै नटरेको भन्दै गठबन्धन दलले बहुमत नपाए फेरि पनि त्यही प्रवृत्तिको पुनरागमन हुन सक्ने उल्लेख गरिएको छ।
नेताहरूले संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरूलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्य गठबन्धनको प्राथमिकता रहेको दाबी गरेका छन्।
उनीहरूले चुनावलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी हुन आग्रहसमेत गरेका छन्।
‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ। ‘यसको अर्थ संविधानको भावना अनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठवन्धनलाई विजयी गराउनु हो,’ अपिलमा भनिएको छ, ‘तसर्थ पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं।’
