काठमाडौं। नेपालमा पहिलोपटक बेस्ट एअरलाइन्स अवार्ड (बान) आयोजना हुने भएको छ। १३ डिसेम्बर २०२२ का दिन नेपालमा पहिलोपटक बान आयोजना हुने भएको हो।
बानका उपाध्यक्ष लालचन्द्र गौतमले नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने उद्देश्यका साथ १३ डिसेम्बर २०२२ का दिन बेस्ट एअरलाइन्स अवार्ड नेपाल–२०२२ घोषणा गरिने जानकारी दिए।
उनले नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने उद्देश्यअनुरूप उक्त अवार्ड घोषणा हुने बताए।
विभिन्न १६ विधामा दिइने बेस्ट एयरलाइन्स अवार्ड नेपालमा नेपाली वायु सेवाका लागि तीन विधा मात्रै छुट्याइएको छ। त्यसमा ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्नेछन्। बाँकी रहेका दुई विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारमध्येबाट उत्कृष्टलाई चयन गरिनेछ।
नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने बेस्ट एयरलाइन्स अवार्डमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवाप्रदायक र आन्तरिकतर्फका नौ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन्।
अवार्डको निष्पक्षताका लागि आयोजकले नेपालमा सेवाप्रदायकको रूपमा सक्रिय वायुसेवा र यस व्यवसायमा आबद्ध संघसंस्थासँग आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोन्सरसिप लिनेछैन।
साथै, अवार्ड निष्पक्ष होस् भन्ने हेतुले समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सम्मिलित निर्णायक मण्डल गठन गरी तिनलाई पूर्ण अधिकार दिइएकोे छ।
अवार्डको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोसिएसन नेपालका अध्यक्ष सृजना राणा, स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्वअध्यक्ष सिएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी तथा नेपाल गैरआवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेका छन्।