भरतपुर। मङ्सिर १ गते। प्रायः निर्वाचनमा चर्चामा रहेन जिल्ला हो चितवन। यही मङ्सिर ४ गते हुने निर्वाचनमा पनि चितवनलाई निकै महत्त्वका साथ हेरिएको छ।
जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये चर्चाको केन्द्रमा रहने चितवन क्षेत्र नम्बर ३ यसपटक पनि सुरुआती चरणबाटै चर्चामा रह्यो। विशेष गरेर २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि यो क्षेत्र सधैँ चर्चामा रह्यो।
यसपटक पनि दाहाल यसै क्षेत्रबाट निर्वाचन लड्ने बताएका थिए तर अन्तिम समयमा गोरखा गएपछि यो क्षेत्रमा माओवादीको तर्फबाट चिकित्सक पेशा छाडेर डा. भोजराज अधिकारी निर्वाचनमा होमिएका छन्।
सधैँ अस्पतालमा बिरामी जाँच्दै गरेका भेटिने डा. अधिकारी बुधबार चुनावी अभियानको क्रममा घरदैलोमै बिरामीको चेकजाँच गर्दै गरेको भेटिए। प्रचार प्रसारको अवधि सकिनै लाग्दा डा. अधिकारीको दौडधुप झनै बढेको देखिन्थ्यो। सुरुआती चरणमा आफ्नो एजेण्डा बुझाउन समय लागे पनि अहिले मतदातालाई आश्वस्त पार्न सफल भएको अधिकारी बताउँछन्।
नेपाली कांग्रेसको बढी प्रभावको रुपमा रहेको यस क्षेत्रमा सत्तागठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कडा चुनौती दिइरहेको छ। एक पटक सांसद बन्दा दुई पटक मन्त्री बनेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्। विसं २०७४ को निर्वाचनमा कांग्रेसको सहयोगमा उम्मेदवारी दिएका पाण्डे बाम गठबन्धनका उम्मेदवार ‘प्रचण्ड’ सँग पराजय भएका थिए। प्रचण्डले पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरेर सांसद बनेका थिए।
एमालेको साथ पाएका प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा कांग्रेसको समर्थनमा निर्वाचन लड्नुभएका पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए। निर्माण व्यवसाय क्षेत्रबाट चिनिएका पाण्डे चितवन ३ को लागि चिरपरिचित अनुहार हन्। उनी पटक–पटक गरी अहिलेसम्म पाँचौँ पटक संसदीय निर्वाचनमा होमिएका छन्। योबीचमा उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा जित हासिल गरेर मन्त्रीसमेत भए।
माडीमा विशेष प्रभाव जमाएका पाण्डेले पनि घरदैलोलाई तीव्रता दिइरहेका छन्। कांग्रेसको राम्रो प्रभाव हुँदा हुँदै प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवार नभएको भन्दै भोट आफूतिर तान्न पाण्डे प्रयासरत देखिन्छन्। त्यसो त राम्रो प्रभाव रहेको अर्को दल नेकपा (एमाले)बाट उम्मेदवार नरहेपछि त्यसको फाइदा उठाउने दाउमा पाण्डे छन्।
बलियो पार्टीको रुपमा रहेको चितवन ३ मा यसपटक नेकपा (एमाले)ले उम्मेदवार अठाएन। जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा फिर्ता लिए। नेपाली कांग्रेसको केन्द्रीय सदस्य त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई एमालेले समर्थन गरेको छ। कोइराला माछा चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका छन्।
एमालेको बलमा कांग्रेसको मतसमेत पाएर चुनाव जित्ने रणनीतिमा कोइराला छन्। यो निर्वाचन क्षेत्रमा मुख्यगरी स्वतन्त्र उम्मेदवार कोइराला, गठबन्धनका साझा उम्मेदवार अधिकारी र राप्रपाका पाण्डेबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ।
यसै, क्षेत्रमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल सूर्यमुखी फूल चुनाव चिह्नमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका छन्। पौडेल यसअघि पनि स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखको बागी उम्मेदवार बनेका थिए। तत्कालीन भरतपुर नगरपालिकाको उपमेयर र एकपटक राष्ट्रियसभा सदस्य भएका पौडेलले पार्टी निर्णयको विरोधमा विद्रोह गरेर चर्चामा आएका थिए। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा माहोल बनाउँदै लगेकाले पनि यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ।
दुई स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी निस्कृय बनाएसँगै यस क्षेत्रमा १८ उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवाले आ–आफ्नो जित पक्का रहेको दाबी गरे पनि यस क्षेत्रको चुनावी माहोल भने रोचक बन्ने निश्चित छ। पाँचदलीय गठबन्धनबाट क्षेत्र नं ३ प्रदेशतर्फ (१) मा कांग्रेसका डा.सूर्यकान्त घिमिरे, (२) मा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालको उम्मेदवारी छ। एमालेले (१) मा कृष्णप्रसाद भुर्तेल र (२) मा सरस्वती विष्टलाई उम्मेदवार बनाएको छ। राप्रपाले (१) मा गिरबहादुर तामाङ (ज्ञानजङ्ग लामा) र (२) मा रिना गुरुङलाई उम्मेदवार बनाएको छ।
भरतपुरका १९ वटा वडा र माडी नगरपालिका चितवन क्षेत्र नं ३ मा पर्छन्। यस क्षेत्रमा कुल एक लाख ४४ हजार २८३ मतदाता छन्। यो सबैभन्दा बढी मतदाता भएको क्षेत्र हो। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट माओवादीकी रेनु दाहाल र राप्रपासँगको तालमेलबाट माडी नगरपालिका प्रमुखमा एमालेकी ताराकाजीकुमारी महतो निर्वाचित भएका थिए। उक्त निर्वाचनमा गठबन्धनमा रहेका दलका वडाध्यक्षका उम्मेदवारले ४५ हजार १७२, एमालेका उम्मेदवारले ३० हजार ६०९ र राप्रपाका उम्मेदवारले सात हजार ४५४ मत पाएका थिए।
स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २९ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले चार वटा, माओवादी केन्द्रले सात वटा, एकीकृत समाजवादीले चार वटा, राप्रपाले दुई वटा र स्वतन्त्र उम्मेदवार एक जनाले वडाध्यक्ष जितेका थिए। वडाध्यक्षले पाएको एकीकृत मतमा एमाले अगाडि छ। त्यहाँ एमालेले २९ हजार ७७१, नेपाली कांग्रेसले २९ हजार ३४३, माओवादी केन्द्रले १० हजार ९४०, राप्रपाले छ हजार १९८, एकीकृत समाजवादीले पाँच हजार ३७ र स्वतन्त्र तथा अन्य पार्टीले तीन हजार ५५९ मत पाएका थिए।