काठमाडौं। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दिन नजिकिँदै छ। देशभर चुनावी प्रचार प्रसारका कार्यक्रमहरु तीव्र भइरहेको छ।
विभिन्न राजनीतिक दलका उम्मेदवार र परिवर्तनका आशा बोकेका स्वतन्त्र उम्मेदवारहरु पनि जनता माझ आफ्नो विश्वास बनाउनमा व्यस्त भएका छन्। स्वतन्त्रमध्येका राम्रा उम्मेदवारलाई जिताउनुपर्ने र त्यसैमा हामी सबै लागि पर्नुपर्छ भन्ने अडान युवाहरुमा देखिएको छ।
नेपालमा रहेका युवाहरुमा विभिन्न दलका उम्मेदवारहरुप्रति आक्रोश देखिएको छ। व्यक्तिगत स्वार्थ, नातावाद र कृपावादलाई प्राथमिकतामा राखेर दलप्रति अनास्था फैलाउने कार्य दलकै शीर्ष नेताहरुबाट भएको अवस्थामा स्वतन्त्र उम्मेदवारहरुको मनमा जितको आशा पलाएको छ।
यिनै स्वतन्त्र उम्मेदवारहरुको सूचीमा तराई मधेशमा ‘बजरंगी भाइजान’ को नामबाट परिचित सामाजिक अभियन्ता सरोज राय पनि चुनावी मैदानमा छन्। उनले सर्लाही क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
पीडीतहरूको भिडमा एकमात्र नाम तराई मधशमा गुन्जीने गरेको छ त्यो नाम हो सरोज राय। सामाजिक समस्याको समाधान जडैबाट गर्नको लागि राजनीतिमा होमिएको उनको भनाइ छ। रायले भने, ‘सर्लाही मेरो जन्मभूमि हो र यहाँ मेरो बढी आवश्यकता रहेको मैले महशुस गरेको छु। सत्तालाई आफ्नो गोजीमा राखेर हिँड्नेहरुका लागि एउटा ठूलो धक्का हो।’
उनले भने, ‘कोही कोरियाबाट श्रीमान दुबईमा फसेको पीडा लिएर आउँछन्, कोही छोरीलाई क्यान्सर भएकोले उपचारमा सहयोगको लागि गरिदिनुस् भनेर आउँछन्। कोही आमा छोराले दुःख दियो भनेर आउँछन्। जनतामा ममाथि आश पलाएको छ। त्यसकारण पनि मेरो उम्मेदवारी रहेको छ।’
परिवर्तन र विकासको संवाहक सबैको जीवनमा प्रकाश पार्ने उद्देश्यले सर्लाही ३ (ख) बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइछ। उनले भने, ‘म जहिले पनि जनताको माझमा रहने र जनताको लागी काम गरिरहने छु।’
राय विगत लामो समयदेखि समाजिक कार्यमा सक्रिय रहेका छन्। विभिन्न देशमा अलपत्र परेका वैदेशिक रोजगारमा गएकाहरुको उद्दार गर्नेदेखि हराएका बालबालिका पनि खोजेर ल्याइदिने काम उनले गर्दै आएका छन्। रायको चुनाव चिन्ह लालटिन रहेको छ।
उनी विदेशमा जेल जीवन विताइरहेका र मृत्यूदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल भएका छन्।
सामाजिक अभियन्ता रायको प्रतिस्पर्धा (ख) प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसबाट हरेश महतो र जनता समाजवादीका संजय कुमार यादवबीच हुने भएको छ।
अहिले सर्लाहीमा दलप्रतिको बितृष्णा बढदै गएको समयमा सामाजिक अभियन्ता रायले स्वतन्त्र उम्मेदवारी दिएपछि रायको चर्चा क्षेत्र नं. ३ मा व्यापक हुने गरेको छ।