विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। ११ वर्षमै विश्वको जनसङ्ख्या एक अर्ब थप भएको हो। २०औँ शताब्दीको मध्यपछि विश्वको जनसङ्ख्या तीव्र गतिमा बढेको थियो, तर अहिले वृद्धिदर सुस्त छ।
संयुक्त राष्ट्र सङ्घको आकलनअनुसार विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अबको १५ वर्ष लाग्न सक्नेछ। सन् २०८० अघि जनसङ्ख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्र सङ्घले जनाएको छ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको २७ सम्मेलन, कोप–२७ लाई सम्बोधन गर्ने क्रममा जलवायु सङ्कटबाट विश्वका ८ अर्ब मानिसलाई जोगाउनका लागि तत्काल काम गर्नुपर्ने बताएका थिए।