म्याग्दी। म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ।
नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो। सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवर्धक सक्रिय भएका छन्।
विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले दुवै ठाउँमा जग्गा व्यवस्थापनको काम सकेर सबस्टेशनका उपकरण राख्ने ठाउँ बनाउन सुरु भएको र प्रसारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको जानकारी दिए।
सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। आयोजनाको ठेक्का अवधि ३० महिनाको छ।
रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १० मङ्गला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन्। डाँडाखेत सबस्टेशनमा १३३–३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ।