धनगढी । नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय टीकापुरमा आइतबार राति ढुंगामुढा गर्दै तोडफोड गरिएको छ । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो ।
रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो । ढुंगामुढा गर्ने समूह भित्र भने छिरेन । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको भर्त्सना गर्ने जनाएको छ ।
गाडी तोडफोड
यस्तै कैलालीमा सत्तारुढ–गठबन्धनका उमेदवारको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा तोडफोड भएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका उमेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ ।
अइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको हो । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटेको छ ।
आइतबार राति ८ बजे चुनावी प्रचारमा गाउँमा गएका बेला रोकी राखेको गाडीमा कसले तोडफोड गरेको हो भन्ने पचिहान हुन सकेको छैन । गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।