धनगढी । सुदूरपश्चिम प्रदेशमा निर्वाचनलक्षित सुरक्षाका लागि झन्डै १८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलक्षित सुरक्षाका लागि १७ हजार ८५९ सुरक्षाकर्मी परिचालन गरिएको छ।
तीमध्ये ११ हजार ५५९ म्यादी प्रहरी छन्। त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी छ हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिएको छ।
निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए। उनका अनुसार नेपाली सेना, सशस्त्र र प्रहरी परिचालन भइसकेका छन्। म्यादी प्रहरी पनि सबै जिल्लामा पठाइसकिएको छ।
निर्वाचनका बेला १७७ वटा मोबाइल टिम परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। गाडीसहितको यो टोली यताउति घुमिरहनेछ। यसैगरी २० वटा रिजर्भ टिम तयार पारिएको रावलले बताए। यो टिम आवश्यकताअनुसार मात्रै परिचालन हुनेछ। मतदान स्थलहरूमा भने निर्वाचनको दुईरतीन दिनअगाडि मात्रै सुरक्षाकर्मी खटिने जनाइएको छ।
बाजुरामा ७४९ म्यादी प्रहरी, डोटीमा ९५३, डडेल्धुरामा ९३७, कैलालीमा दुई हजार ८१२, अछाममा एक हजार २६८ म्यादी प्रहरी परिचालन गरिएको छ। यसैगरी बैतडीमा एक हजार १९१, बझाङमा एक हजार १८८, दार्चुलामा ८२९ र कञ्चनपुरमा एक हजार ६३२ म्यादी प्रहरी परिचालन गरिएको छ।
एक हजार १६१ मतदान स्थल रहेको यो प्रदेशमा सामान्यभन्दा संवेदनशील मतदान स्थलको सङ्ख्या बढी छ। अति संवेदनशील ३५२ र संवेदनशील ४०४ गरी प्रदेशभरि ७५६ मतदान स्थल संवेदनशील रहेका छन्। ४०५ मतदान स्थल भने सामान्य सूचीमा रहेको छ। निर्वाचनको सयममा संवेदनशीलतानुसार सुरक्षाकर्मीलाई मतदान स्थलमा खटाइने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
३२ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये ७१० अति संवेदनशील, ७७८ संवेदनशील र ६५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।