काठमाडौँ । देशभर जाडो बढ्दै गएको छ । जाडो बढेसँगै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेको छ।
काठमाडौँसहित धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाडौँको न्यूनतम तापक्रम हिजोको भन्दा आज एक डिग्री सेल्सियसले घटेको छ ।
हिजो ९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम आज ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार चिसो बढेसँगै रातको समयमा आकाश सफा भएकाले पनि बिहानको न्यूनतम तापक्रम घटेको हो ।
आज दिउँसो भने देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । पारिलो घामका कारण दिउँसोको समयमा खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढेको छ । यस्तै, हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो हावा चल्न थालेकाले पनि चिसो बढाएको छ ।