काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छन्।
राष्ट्रपति भण्डारीले मानवअधिकार, समानता र भेदभावरहित सिद्धान्तहरूलाई अङ्गीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरूमा लगानी गरिरहेको पनि बताइन्।
राष्ट्रपति भण्डारीले भनिन्, ‘हाल नेपालमा मानव अधिकार, समानता, भद्भावरहित रूपान्तरणका सिद्धान्तहरू आत्मासात गरिरहेको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छौँ। समानता र न्यायपूर्ण समाजको निर्माणका लागि हामीले शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक, राजनीतिक प्रबन्धहरूमा लगानी गरेका छौँ।’
आइसल्यान्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरूको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालले सङ्घीय र प्रादेशिक विधायिकाहरूमा एक तिहाइ महिलाहरूको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराइन्।
राष्ट्रपति भण्डारीले भनिन्, ‘सङ्घीय तथा प्रादेशिक विधायिकाहरूमा महिलाहरूको प्रतिनिधित्व एक तिहाइ सुनिश्चित गरिएको छ। साथै यसका लागि सुदृढ संवैधानिक आधारशिला समेत रहेको छ। हालसालै सम्पन्न स्थानीय सरकारको निर्वाचनमा ४१ प्रतिशत राजनीतिक पदहरूमा महिलाहरू निर्वाचित हुनु भएको छ। निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरूजस्ता क्षेत्रमा महिलाहरूको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको छ।’
राष्ट्रपति भण्डारीले नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरूजस्ता क्षेत्रमा महिलाहरूको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको बताइन्।
सबै प्रकारका लैङ्गिक हिंसा, पूर्वाग्रह, तथा कुरीतिहरू विरुद्धको लडाई जित्न बाँकी नै रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालले त्यसका लागि अटल र इमान्दार प्रयासलाई जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको कारण लाखौँ मानिसहरूको जीवन जोखिममा परेकाले त्यसको प्रभाव न्यूनीकरणमा सबैले पहल गर्नुपर्ने आवश्यकता रहेको बताइन्।