दमौली । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएकी छिन् ।
नेपाल कानुन समाजको आयोजनामा आज दमौलीमा आयोजना निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रियामा बोल्दै आयुक्त तुलाधरले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गरिन् ।
सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधारको भनाइ थियो । तुलाधारले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरिन्। ‘आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो’, तुलाधारले भनिन्, ‘आचारसंहिता सबैलाई समानरूपमा लागू हुन्छ ।’
आचारसंहिता उल्लङ्घनका विषयमा आयोग कडारूपमा प्रस्तुत हुने बताउँदै आयुक्त तुलाधारले आचारसंहिता उल्लङ्घन गर्ने सबैलाई कारबाही गरिने प्रष्ट पारिन्। ‘आचारसंहिताको परिधिमा रहेर दलले प्रचार–प्रसार गर्नुहोस्, प्रचार–प्रसारमा कसैलाई नहोच्याउनुहोस्, दुष्प्रचार नगर्नुहोस्’, उनले भनिन्। स्वअनुशासनमा बसेर आचारसंहितामा नचुक्न आग्रह गर्दै तुलाधारले दायित्व पालना गर्न सम्झाइन् ।
आयुक्त तुलाधारले मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गराउने तयारी गरिएको बताउँदै निर्वाचन खर्च परिमार्जन गरिएको उल्लेख गरिन् । निर्वाचन खर्चका सन्दर्भमा आयोगले तोकेको मापदण्डबमोजिम तथ्यांक राख्न आग्रह गर्दै तुलाधारले भनिन्, ‘यस विषयमा आयोगले सूक्ष्मरूपमा अध्ययन गरिरहेको छ ।’
संविधान र कानुनबमोजिम आयोग आफ्नो कर्तव्य पालनामा प्रतिबद्ध रहेको बताउँदै तुलाधारले आयोगको काममा सरोकारवाला निकायको सहयोगको अपेक्षा गरिएको बताइन् ।