काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राति डोटीमा गएको भूकम्पमा परी ज्यान गएकाप्रति दुस्ख व्यक्त गरेका छन् ।
डोटी केन्द्रबिन्दु भएर मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा मृत्यु भएका छ जनाप्रति नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले दुस्ख व्यक्त गरेका हुन्।
सुदूरपश्चिम गृहजिल्ला भएका प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उल्लेख गरेका छन्।
‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री देउवा लेख्छन्, ‘भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु।’
डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पमा परी छ जनाको मृत्युसँगै अन्य पाँच जना घाइते भएका छन्।भूकम्पले ग्रामीण भेगका दर्जनौँ घर भत्किएका छन्।
यस्तै, गृहमन्त्री बालकृष्ण खाणले गएराति डोटीको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँमा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाहरूको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई भनेका छन्। गृह सचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन्।
गृहमन्त्री खाणले घाइतेहरूको अवस्था र अहिले उनीहरूलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिए। उनले भूकम्पमा परेर प्रभावित भएकाहरूलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा तत्कालका लागि वासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिए।